वनहराका भूमिहीन परिवारलाई ज्यान जोगाउनै मुस्किल
काठमाडाैं | भदौ १६, २०७९
कञ्चनपुर । पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको शुक्लाफाँटा नगरपालिकाको पूर्वी सीमा नदी वनहरा छेउमा झुपडी बनाई बस्दै आएका भूमिहीन परिवारलाई ज्यान जोगाउनै मुस्किल हुन थालेको छ । वनहरा नदीले भूमिहीन परिवार बसोबास गर्दै आएको क्षेत्रतर्फ कटान गर्न थालेपछि उनीहरु जोखिममा परेका हुन् ।
“एकातर्फ नदीले जग्गा कटान गरिरहेको छ”, पीडित दलबहादुर बोहराले भन्नुभयो, “अर्कातर्फ नालामा वर्षाको पानी भरिन्छ, बाढी आए भाग्ने ठाउँ नै छैन ।” आकाशमा वर्षा गराउने बादल आउने क्रम सुरु भएसँगै झुपडी छाडेर सुरक्षित स्थानमा जानुपर्ने बाध्यता भएको उहाँले बताउनुभयो । रातिका बेला वर्षा हुन थालेपछि नजिकैको नदीमाथि बनाइएको पुलमा ओत लाग्नका लागि जाने गरेको पीडित प्रकाश साउदले बताउनुभयो ।
“वर्षा कतिबेला हुन्छ थाहा हुँदैन”, उहाँले भन्नुभयो, “त्यही भएर बालबालिकासहित पुलमुनि छाडा चौपायासँगै सुत्नुपर्ने बाध्यता छ ।” दिउँसो झुपडीमा गर्मीका कारण बस्नै सकिँदैन । वर्षा भए झोपडी चुहिन्छ । यस्तो अवस्थामा पुलमुनि सुत्नुको विकल्प नभएको उहाँ बताउनुहुन्छ । शिविरमा बस्दै आएका परिवारका छानामा राखिएका त्रिपाल पुराना भइसकेका छन् । त्यसबाट वर्षात्को पानी चुहिन्छ । अत्यावश्यक सामान जोगाउनका लागि निकै समस्या भएको भूमिहीन परिवारको दुःखेसो छ ।
वन क्षेत्र नजिकै बस्दै आएका भूमिहीन परिवारलाई नदीको बाढीसँगै जङ्गली जनावरको समेत उत्तिकै डर छ । “झुपडी छेउबाटै गए राति बाघले गाईलाई मारेर घिसार्दै वन क्षेत्रमा लग्यो”, पीडित अमृता साउदले भन्नुभयो, “जीउ जोगाउनसमेत मुस्किल भइसकेको छ, सुरक्षित स्थानमा शिविर सार्न पाए ज्यान जोगिन्थ्यो ।”
डडेल्धुराको आलितालमा पहिराले घरखेत सबै बगाएर लग्दा भूमिहीन भएर शिविरमा बस्न आएको उहाँले बताउनुभयो । “पीडित भएर बस्नका लागि ठाउँ खोज्दै यहाँ आइपुग्यौँ, यहाँ पनि सुरक्षितरूपमा बस्न नपाइने भएको छ, राति लामखुट्टेले टोकेर हैरान बनाउँछन्, बालबालिकालाई लामखुट्टेबाट जोगाउन जाग्रामसमेत बस्नुपर्छ, नदीमा बाढी आए पूरै परिवार जाग्राम नै बस्छौँ”, उहाँले भन्नुभयो ।
पुनःस्थापनको आशैआशमा बस्नुपर्ने अवस्था आएको उहाँले दुखेसो पोख्नुभयो । नदीको वारि र पारि गरी दुई ठाउँमा आर्यघाटसमेत रहेको छ । “नजिकमा मजदुरी पाइँदैन, कयौँ रात भोकै पनि सुतेका छौँ”, पीडित मानध्वज लुहारले भन्नुभयो, “टाढा गएर फर्कन सकिँदैन, परिवारलाई एक्लै छाडेर जान पनि सकिँदैन, यसैगरी दुई दशक बित्नै लागे पनि पुनःस्थापनको कुनै निकायबाट पहलसम्म हुनसकेको छैन ।”
नदीको दूषित पानी पिउनुपर्ने बाध्यता भएकाले बालबालिकासहित युवादेखि बूढापाकासम्म बिरामी पर्ने गरेका उनीहरुको भनाइ छ । पीडित कलावती दमाइले भन्नुभयो, “उपचारका लागि आर्थिक अभाव हुँदा झुपडीमै पीडा सहेर बस्नुपर्ने अवस्था रहेको छ, आधारभूत स्वास्थ्य केन्द्रबाट सामान्य किसिमको औषधिमात्रै पाइन्छ, स्वास्थ्यकर्मीले औषधि बाह्य क्षेत्रबाट खरिद गर्नुपर्ने लेखिदिन्छन्, पैसा हुँदैन, औषधि खरिद गर्न पाउँदैनाँै, त्यसपछि एउटै विकल्प पीडा सहनुमात्रै रहन्छ ।” दुई दशकदेखि भूमिहीन परिवारले बस्दै आएको शिविरमा १२ परिवारमात्रै बस्दै आएका थिए ।
“शव जलाएको धुवाँ शिविरसम्म पुग्ने गर्दछ, पहिला पहिला शव जलाएको गन्ध आउँदा निकै अप्ठ्यारो हुन्थ्यो”, शिविरका बासिन्दाले भन्नुभयो, “अब बानी नै परिसक्यो, यो क्षेत्र छाडेर अरु ठाउँ जान सकिँदैन, कुन ठाउँ गएर बस्ने हो, पहाडमा छदा बाबुबाजेले अरुको काम गरे, कामै नपाइने भएपछि बाध्य भएर यहाँ आइपुगेका हौँ, यस क्षेत्रमा समेत जीवन जिउन निकै कठिन छ ।”
डडेल्धुराका पहिरो पीडितसमेत थपिएपछि शिविरमा २८ परिवार बस्दै आएका छन् । शिविरमा बाजुरा, बझाङ, अछाम, बैतडी र डडेल्धुराबाट आएका भूमिहीन परिवारको बसोबास रहेको छ । शिविरमा बसोबास गर्दै आएका परिवारको एउटै भनाइ रहेको छ, “हामीलाई सुरक्षित स्थानमा पुनःस्थापन गरिदिनुपर्यो ।”
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...
भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

